Friday, October 2, 2015

तेल विहिन मन - एक स्मृती

ए बालाजु, स्वयम्भू, सितापाइला, कलङ्की ओ कलङ्की !! सरर... माइक्रो आइ टक्क उभियो माछापोखरी चोक !

अचम्म भो ! मलाइनै बोलाउदै छ । झ्याप्पै चढिहाले, संयोगवस भाग्यनै भनुक्यारे साझको पाँचबजे त्यो पनि तेलको अभावको बेला, पाचौ नम्बरको सिट खाली रहेछ ! बसि हाले लामो स्वासको साथमा । नजिकैको साइडको अर्को सिटमा एकजना बोके दाह्रीपालेको केटो दुवै कानमा एयरफोन लाएर बसेको थियो । बाहिर खलासी लगातार भट्याउदै थियो - "ओ कलङ्की, कलङ्की, कलङ्की !! दिदी जानी हो दाइ जानी हो ।" एकैछिनमा यात्रुको चापाचाप भयो ! बसमा बस्नेहरुभन्दा उभिनेहरु धेरै देखिन्थे ! बसको बिचको प्यासेजमा लहरै क्रम मिलाएर दुई लहर खादिएर उभिएको थियो ! म बसेको सिटको छेउमा दुइजना भर्खर पन्ध्र, सोह्र बर्षका ठिटा उभिएर बसेका थिए ! एकआपसमा गफिदै र हास्दै थिए ! अघिल्लो सिटमा उभिने एक राम्री युवती पनि थिइन, साच्चै हेरिरहु लाग्ने खालकी । उनको ड्रेस हेरिसकेर उनको अनुहारमा के हेर्न भ्याएको थिए, थाहा पाएकी उनी मलाइनै हेरिरहेकी ! आँखा जुध्यो ! अलि असहज भएजस्तो भो । त्यो असहजता भङ्ग गर्न पुलुक्क अर्कोतर्फ मुन्टो फर्काए । आखिर मान्छे त हो जो सँग अनगिन्ती उत्सुकताका नालिवेली हुन्छन र प्रत्येक पटक मान्छे केही न केही उत्सुकतामा खेलिरहेकै हुन्छ ! यो उत्सुकता भन्ने शब्द नहुदो होत संसार आज कहाँ रहन्थ्यो होला ! त्यही उत्सुकताले नै मलाइ उनिलाइ हेर हेर भनिरह्यो ! अनि त्यही, त्यस्तै ठाक्कै उत्सुक उनका आँखाले मलाइ बोलाएझै लाग्यो ! एक पटक त हेर ! एकपटक सोचे यो सबै मेरै मनोकाङ्क्षा हो ! तर पनि के सम्हाल्न सक्नु त्यति गहिरा उनका आँखा हेर्न नपाउदा जहाँ सायद छिर्न सके संंसारै देखिन्थो होला ! अझ उस्तै मेरा पापी आँखा , जोडि वनाइ जुधाजुध खेल्दै, चिम्लि चिम्ली आनन्द लिन चाहिरहेका थिए । खैर सकिन ! हेरिदिए उतै ! पुन आँखा जुधे ! उनी मलाइनै हेरिरहेकी रहिछन । असमन्जसमा परे र दिमागलाइ अन्तै तर्फ डोर्याएर अर्को तर्फ फर्किएर वाहिरको सिन हेरि रहे, भुकम्पप्रभावित घरहरु र पुनर्निर्माण गरिरहेको सिनले राम्रो सहारा दियो त्यो अव्यक्तता हटाउन । माइक्रो कोचिएरनै वनस्थली आइपुग्यो ।

- दाइ खै झर्नुपर्यो ।
- झर्ने हो ?
- हो ।
बोकेदाह्री पालेको केटालाइ खुट्टा अलि पन्छाएर बाटो छोडी झ्याल तर्फको सिटमा बस्न गए। साइडको प्यासेजमा उभिएका पन्ध्रवर्षे केटाहरु गफिदै थिए । उनलाइ सिट खाली भएको मतलबनै थिएन वा नजिकै नारी भएकोले प्राथमिकता दिएका हुन ! खैर जान्ने चासो लागेन र चासो लिएर र नि के गर्नु ! अघिल्लो सिटनजिक उभिने ती युवतिनै आएर बस्न पुगिन खाली सिटमा । उनको अनुहारको चमकले प्रस्टैसंग बताउदै थियो उनी युद्ध जित्दैछिन । हो संसारमै कहिल्लै कोहि नलडेको युद्ध  !!
गाडी पुन गुड्यो - स्वयम्भू, कलङ्की ओ कलङ्की ।।

हलचोक फ्युल स्टेसननजिक पेट्रोल लिने मोटर्साइकलको लाइन प्रशस्तै देखिन्थ्यो । बाटो साघुराएरनै मोटरसाइकल चालकहरु पेट्रोललिने समय पर्खिरहेका थिए । ट्राफिक पुलिसको केही सीप लागिरहेकै थिएन । पेट्रोललिनेहरुको लाइन परैसम्म थियो । जाम भयो गाडिको । गाडी नगन्य चल्दैथियो । यात्रुहरु बिच बाटोबाटै हाम्रै गाडी चढिरहेका थिए !सायद पेट्रोल लिने यात्रुहरु हुन सक्छन। ओर्लने कोहि थिएन । खलासी भाइ बल्खुसम्म मात्रहो त्यहाबाट पर जान्न भन्दै सम्झाउदै थियो । माहोल कोचाकोच बनिरहेको थियो । स्वयम्भू चोक पुग्दा गाडीले खुट्टा राख्ने ठाउसम्म भेटाउन गाह्रो थियो, तैपनि मान्छेहरु ढोकामै झुन्डिएर भएनी चढिरहेका थिए । कोहि कोहि त छतमा पनि जाँदै थिए । झ्यालमा चढेर खलासी भाइ  "मिलेर बस्नुस त, अलि पछि जानुस त, ह्या अन्टि पछि जानुस न भन्या त्यत्रो खाली ठाउँ छ है जानुस जानुस" भन्दै कोच्दै थिए । एक्कासी ती युवती मसंग अलि कस्सिएर टासिन पुगिन, बिचको खालिठाउमा उभिनेहरुको तिनवटा लहर थियो । मान्छेहरु संकटमा परेझैगरि खादिएका थिए । युवतीको बायाँ कुहिनो र केही शरीर मेरो दायाँ छातिनिर खप्टिएको थियो ।

मैले भने - गाह्रो भो !
पुलुक्क हेर्दै मसिनो स्वरमा - हजुर मलाइ नि !
(सायद त्यस्तो अवस्थामा यात्रागर्ने मैलाई मात्र गाह्रो भएको रैनरहेछ ! ती प्रत्येक उभिएर अनि कोचिएर यात्रा गर्ने यात्रुको के हाल होला ! तैट ! किन भनेछु भनी आत्मग्लानी भो ! गाह्रोत अझ झन उनिलाइनै थियो ! )

हाम्रो वार्ता औपचारिक रुपमा शुरुभै सकेको थियो । अनौपचारिक र नजरको कुराकानी त अघि उभिदा नै भै सकेको थियो । खै हामी दुई धेरै पहिले देखि परिचित छौ जस्तै लाग्दै थियो, हो घनिष्ठ सम्बन्ध झै । उनको हाउभाउले नि त्यस्तै अभिव्यक्त गर्दै थियो ।

यस्तै हो बन्दको चपेटा ! आखिर प्रभावित हुने हामिनै हो । - मेरो जवाफ थियो । ( आत्मग्लानिलाइ अलिकती मलम लगाउदै )

कुहिनाले हल्का धक्याएझै गर्दै - कस्तो सास्ती, कस्तो निर्ममता ! के नेपालमा बस्ने हरेक तराइवासिहरु यो सास्तिबाट अछुत होलान त ? अझ त्यही तराइमा कस्तो अवस्था होला ! मारामार छ !आन्दोलन भन्दै कोहि सडकमै सुतेका छन ! 

मलाइ लाग्दैन तिनिहरु अलिक फरक यात्रा गर्दै होलान । सानो सानो कामगरेर आफ्नो जिविको पार्जन गर्ने हरेक तराइ मधेसवासिहरुको अधिकार आज केही सिमित नेता भनाउदाहरुले हनन गरेझै लाग्छ । विचरा कोहि त खान नपाइ मर्ने स्थितिनै भयो होला ! संविधानमा आफ्नो अधिकार सुनिश्चित त वार्ता, छलफलबाट पो गर्ने होत ! कहाँ यसरी मान्छेलाई जीउँदै मारेर हुन्छ !

यो साच्चै नाकवन्दी होत ?

मलाइ लाग्दैन यो नाकावन्दी होइन । केही घरानियाहरु मिले पार्टी खोले ! गुण्डाहरु पाले ! टन्न पैसा खर्च गरे ! अब खर्चको स्रोत जुटाउन समस्या ! अब त्यो खर्चको सोधभर्ना कि त मन्त्री भएर गरिन्छ कि त कालै काम गरेर गरिन्छ भन्ने मानसिकता छ धेरैजसो नेता हरुमा ! यहि हो हाम्रो अनि हामिले अंगाल्दै आएको नेपाली राजनितिको विडम्बना ! सायद यस्तै विषयले प्रश्चय पाएर होला ! आन्दोलनकारीहरु चामलका एक एक सिताका गासमा अड्कीएको ! धर्ना दिएको अझ घाँटी निमुठिदिएको !! खैर जे भएनी भै सक्यो बरु चाडै यस्तो राजनितिक समस्या समाधान होस ! आन्दोलनकारिका समस्या समाधान होउन ! अधिकार पाउन ! हिमाल पहाड तराइ मिलिजुली पाइला टेकुन !! आशा गरौ - नेपाल प्रगती र समृद्धिको बाटोमा छिटो छिटो पाइला चालुस ! 

कुरालाइ केही मोड्दै,

कहाँ सम्म पुग्नेनी हजुर ?
म कलङ्की सम्म, अनि तपाइ नि !
म पनि कलङ्किनै हो ।
मैले भने - होर कलङ्किनै, के गर्नुन्छ नि कलङ्किमा ?
मेरो बसाइ कलङ्किमै छ ।
अनि तपाईं नि ?
म पनि कलङ्किनै बस्छु, मेरो डेरा त्यतै छ । म पढ्छु ।

चिनजान पनि भयो । उनको नाम स्मृति, रहेछ । ब्याचलर सेकेन्ड एयर पढ्दै रहिछीन । कलङ्की चोकमै बस्दि रहेछिन । नैकापमा अङ्कलको घर छ रे ।उनको जन्म अनि स्थायी घर चाहि स्याङ्जा जिल्ला पर्दो रहेछ ! तर उनी साथिसंग खसिवजार नजिक बस्दी रहिछ्न । हाम्रो कुरो कानी अघि बढेकै थियो एक अर्काप्रतिका आन्तरिक र वानी व्यहोराका कुराहरु छुट्टिदै थिए ।

गाडि सितापाइला चोकमा अल्लिवेरनै रोक्यो । ओर्लने धेरै रहेछन । धेरै ओर्लिए ! अब गाडिमा जम्मा ओर्लने मात्र चारजना थिए । त्यो पनि ढोकानजिकै उभिरहेका थिए तरपनी स्मृतिको बायाँ कुहिनो मेरो छातिमै अडेस लगाइरहेको थियो उस्तै ढल्केको थियो उनको शरीर जतिबेला उनी उभिनेहरुको चेपाइमा थिएन । अहँँ पटक्कै छोडेकी थिइनन ! टासिइरहिथिन । म हलचल गर्न सकिरहेको थिइन । आनन्द त मलाइ नि आइरहेको थियो । छाती चिलाएझै भएको थियो तर म खटाइरहेको थिए कतै त्यो चुम्बकिय शक्ति साउथ साउथ पो हुनेहोकी ! हुन त पापी मन उनी त्यसो सोचेकी थिइन वा थिइनन मलाइ थाहा थिएन तर म बेलिबिस्तारमै सोचिरहेको थिए । भित्र भित्रै गुदगुदिएको थिए । अचम्मको आनन्द लिइरहेको थिए । यति धेरै समयसम्म कसैलाई छातिमा अड्याएर राख्नु मेरालागी विल्कुलै नौलो थियो ।

दिमागले उनलाइ चिन्ने योजना बनाएछ क्यारे ! इमेल आइडी मागे । झट्टै फेसबुक आइडी माग्न लाज लागेजस्तो भो । मेरो इमेल त छ तर म चलाउदिन जवाफ थियो उनको ।

- इमेलबाट फेशबुकमा एड गरौ भनेर नि !
- मन्द मुस्कानका साथ ! नम्बरबाट सर्च गर्नुहोला ! ९८४३....... !
- हतार हतार गोजिबाट मुबाइल निकालेर डायल गर्दै ! एसेप्ट गर्नुहोला है ?
- हुन्छ । मलाइ मिस्डकल गर्नुहोस न ?

उनी म भन्दा एक कदम अघिनै थिइन । मैले इमेलको वहानामा उनले फोन नम्बरको सराहना दिइन । फोन नम्बरका प्रत्येक अङ्कले मलाइ भनेझै लाग्यो - डियर माइन क्लोजेस्ट मयाजेस्टी, प्लिज गिभ मि अ वन्डर्फुल फेनोमेन्नल हग, प्रोटेक्ट मि फरेभर !! फोनबुकमा Smriti नाम सेभ गरिदिए ! फोनबुकमा न थर थियो न  गोत्र केवल थियो उनको नाम स्मृती ! सम्झिदा अह मित्र बनिएछ माइक्रोबसको छोटो यात्रामा पनि !

खलासी भाइले कलङ्की वारि भनी चिच्यायो । उनको अनुहारको चमकमा हल्का फिक्कापन प्रस्टैसँग देखिन्थ्यो । मलाइ पनि नरमाइलो लागिरहेको थियो ।

म झर्ने वेला भयो भन्दै उनिनै उठिन र,
-तपाईं वारि कि पारी ?
-हैन म पनि वारिनै हो झर्ने पख्नुस ल !
-आउनुस ल

म झ्यालको सिटबाट निस्कदा उनी ढोकामा पुगिसकेकी थिइन । पुर्लुक्क हेरेर आखिभौले मलाइ वोलाएर बसवाट झरिहालिन । म पनि ओर्लिए । म ओर्लिएर पर्स ननिकाल्दै खलासिले तपाइको भै सक्यो भन्दै फिस्स हास्दै ढ्याप ढ्याप पारेर निस्किहाल्यो । उनले भाडा तिरिसकेकी थिइन । मैले मेरो भाडा रकमको हिस्सा उनलाइ दिदै भने - लिनुस मेरो भाडा ।

- भो पर्दैन ! साथी साथिमा भैहाल्छ्नी, आज मैले तिरे, भोलि तपाईं तिर्नुहोला ! हिसाब बराबर !

कुरो गम्भीर थियो । सोचनिय थियो । आज तिरेको भाडाको बहानामा यिनले भोलि पनि मसँगै यस्तैगरी यात्रागर्नेछीन। कुहिनो र आधी शरीर बोकाउने छिन अनि मलाइ अप्ठ्यारो भएकोमा पनि अप्ठ्यारो भयो भन्न एक पटक सोचेर बोल्ने बनाउनिछन !  जेसुकै होस उनको मन्द मुस्कानरुपी साथी वचनले मेरो मन जितिहाल्यो । अवाक भए । पैसो गोजिमा राखे । एकैछिन सँगसँगै चुपचाप हिडिरह्यौ । सिटिसेन्टर हस्पिटलको नजिक पुग्नासाथ मैले कफि खाने भनेर सोधे । उनले एकैछिन अक्मकाएर हुन्छ भनिन अनि नजिकैको क्याफेमा कफिका लागि गयौ ।

अर्डर भयो कफि । मैले एउटा चुरोट पनि मगाए । उनने खानुहुन्न भनिन । क्यान्सिल भयो चुरोट । कफि आयो । दुवै गफ गर्दै पिउन थाल्यौ । आँखा जुधिरहेका थिए । नजिकै कफि पिउनेहरु हेर्दै थिए । हाम्रो प्रेम छरप्रस्ट देखिदै थियो । लगभग एक भएका जस्तै थियौ हामी । कफि पिउदै गर्दा पनि समयको सभासात बजिसकेको थियो । हुन्छ मलाइ ढिला हुन्छ । जान्छु है भन्दै निस्किन उनी । म पनि निस्के !

- वाइ
- वाइ
- ओके विल मिस यु, होप वि विल मिट सुन !
- मन्द मुस्कुराउदै भनिन- स्योर आइ विल कल यु टुमारो फर डिनर, ओके ? विल यु कम ?
- स्योर !! कल मि ओके !

कुरो प्रेममै अबिव्यक्त थियो । मायानै भरिएको थियो । उनलाइ गएर हग गरुझै लाग्दैथ्यो तर समाल्हे आफुलाइ ।

रातको आठ बजिसकेको थियो । उपेन्द्रले चुरोटको लास्ट पप लिदै भन्यो यार सुनिल आजकल सँगै भेट्दा हामीले तराइमा जातिय पहिचानका निम्ति गरिएको  नाकावन्दिलाइ सहर्ष स्विकार्दै हामी सधन्यवाद दिन्छौ ! रमाउछौ ! प्रेममा डुब्छौ । कहिले पौडी खेल्छौ त कहिले कहिले सुख्खा मरुभुमिमा पसिना निकाल्दै प्रेमकै अँगालोमा घण्टौसम्म बेरिन्छौ । प्रेमको भर्याङ्ग कहिले सँगै चढ्छौ त कहिले सँगै ओर्लन्छौ । देशमा तेल नभएको अवस्थामा जोडिएको हाम्रो प्रेम साच्चै कस्स्सिएको छ हो साच्चै तेलविहिन मन अनि फस्टाएको हाम्रो प्रेम । आशा छ प्रेमको सफलतानै तिमिलाइ यिनै चुरोटका धुवासँगै सुनाइरहु ।

No comments:

Post a Comment